भानु जयन्तीमा एभरेष्टको कविता प्रतियोगिता, रिजु अधिकारी प्रथम

विराटनगर । २११ औं भानु जयन्तीको अवसरमा विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कविता प्रतियोगिता गरेको छ । स्कुलका कक्षा ५- देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा कक्षा १० कि छात्रा रिजु अधिकारी ‘वर्तमान’ शिर्षकको कविता वाचन गर्दै प्रथम हुनुभयो ।

यस्तै कक्षा १२ का खिलराज ढकाल ‘मलाई गर्व लाग्छ मेरो देश’ शिर्षकको कविता वाचन गरेर दित्तिय हुँदा १२ कै सुजल कोइराला ‘मैले नगरे कस्ले गर्ने’ शिर्षकको कविता वाचन गर्दै तृतीय हुनुभएको छ । यसैगरी कक्षा ५ कि छात्रा वेबिका पनेरू ‘हाम्रा भानु’ शिर्षकको कविता वाचन गर्दै सान्त्वना पुरस्कार जित्न सफल हुनुभएको छ । उहाँहरूले क्रमश: दस हजार, सात हजार, पाँछ हजार र तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

राष्ट्रियसभाका पूर्व सदस्य एवम् प्राज्ञ खेम नेपाली प्रमुख अतिथी रहेको कार्यक्रममा कविद्वय निर्मला कोइराला र मिनकुमार श्रेष्ठ नवोदित निर्णायकका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले भानुभक्तले नेपाली भाषाको उत्थानमा सहयोग गरेको चर्चा गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी नेपाली, निर्णायक निर्मला कोइराला, नेपाली शिक्षक खम्बसिंह नेपाल, भाईस प्रीन्सिपलद्वय नारायण कडरीया, टीएन भण्डारी लगायतले भानुभक्तको स्मरण गर्दै नेपाली साहित्य र भाषाका क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभयो ।

प्रकाशित मिति: २०२४-०७-१३ , समय : २०:०९:०१ , ५ महिना अगाडि