वडाध्यक्ष बादे दोषी ठहर, घरबाटो सिफारिसका लागि लिएका थिए १५ लाख

काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीले जानकारी दिए ।उनीविरुद्ध विशेष अदालतमा २६ माघ ०८० मा मुद्दा दायर भएकोमा कसुर कायम हुने फैसला भएको छ । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । साे मुद्दामा बादेलाई दुई वर्षदेखि चार वर्षसम्म कैद हुनसक्ने भन्दै उनको सजाय निर्धारणको लागि ३१ असारमा पेसी तोकिएको छ ।

प्रकाशित मिति: २०२४-०७-१२ , समय : ११:५०:२० , ६ महिना अगाडि