काठमाडौँ : निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँमा बिहीवार शुरु भएको आठौँ घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएको हो।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पुँजीगत खर्चको अवस्था ज्यादै न्यून रहेको बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।
उनले यस अवधिमा १५ प्रतिशत पनि पुँजीगत खर्च नभएको जिकिर गर्दै सरकारले अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तीव्रता दिँदै समग्र आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताए।
‘चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा १५ प्रतिशत पनि पुँजीगत खर्च भएको छैन। अर्थतन्त्र प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तीव्रता दिँदै समग्र आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनु पर्छ‚’ उनले भने‚ ‘पुँजीगत खर्च बढ्दै जाँदा देशको अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउँछ। बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल बन्ने बताए। उनले घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘घरजग्गा कारोबारलाई चलायमान बनाउनसक्यो भने हाम्रो अर्थतन्त्र एकदमै सबल बन्छ। घरजग्गा कारोबारबाट मोटामोटी मुलुकलाई झन्डै अर्ब हाराहारीको राजश्व प्राप्त भइरहेको छ। यसलाई अलिक व्यवस्थित गरेर, व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ। कित्ताकाटलाई अलिक व्यवस्थित गर्न पनि आग्रह गर्छु।’
उनले नीति नियम निर्माणमा ढिलासुस्ती हुँदा समयमै काम पाउन र पूरा हुन नसकेको बताए।
पुस १२ देखि १५ गतेसम्म मेला सञ्चालन हुनेछ। मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ भने मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिएको छ।
प्रकाशित मिति: २०२३-१२-२८ , समय : २१:४७:५५ , १२ महिना अगाडि