पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा, काठमाडौं लैजाने तयारी

विराटनगर । मानव तस्करी प्रकरणमा विवादित बनेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं लाने तयारी गरेको छ ।

आफ्नै निवासमा रहेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौं लाने तयारी गरेको हो । अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा काठमाडौं पठाउन लागिएको कोशी प्रदेशका डीआइजी चन्द्र कुवेर खापुङले बताउनुभयो । यता अधिकारीले भने आफै अनुसन्धानलाई सहयोग गर्न काठमाडौं जान लागेको बताउनुभयो । उहाँले सबुत प्रमाणसहित जान लागेको बताउनुभयो । ‘थप अनुसन्धानमा सहयोग गर्न १ बजेर ५० मिनेटको फ्लाईटमा काठमाडौं जाँदै छु’ – अधिकारीले भन्नुभयो । अहिले आफ्नै निवासमा रहेको उहाँले बताउनुभयो ।

अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि अधिकारी आफूखुसी जापान जानुभएको थियो ।

अधिकारीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै अधिकारी कात्तिक १३ गते जापान जानुभएको हो । टोकियो विमानस्थलमा उहाँलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।

प्रकाशित मिति: २०२४-११-१० , समय : १४:४९:५३ , १ महिना अगाडि