‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान गरिएसँगै धनगढीको मुख्य बजार क्षेत्रका सडक रातमा झिलीमिली बनेको छ । मुख्य सडकका खम्बामा सेतो, नीलो र रातो रङको बत्ती एकसाथ बल्न थालेसँगै धनगढी बजारको सुन्दरता बढाएको हो । धनगढी उपमहानगर क्षेत्रको ‘छ लेन’ सडकखण्ड र स्तरोन्नति गरिएका ट्राफिक चोकदेखि कैलाली पुलसम्मको मुख्य सडकमा रङ्गीविरङ्गी बत्ती जडान गरिएको छ ।
दुई वर्षपछि काम विशेषले डोटीबाट धनगढी आइपुगेका भक्तराज जोशीले भने, ‘रातिको समयमा रङ्गीविरङ्गी बत्तीको उज्यालोमा हिँड्दा विकसित सहरमा पुगेको अनुभव भयो ।’ मुख्य बजार क्षेत्रको बत्तीले सर्वसाधारणलाई हिँडडुल गर्न सहज मात्र नभई पसल पनि राति अबेरसम्म खुल्न थालेका छन् ।
उपमहानगरपालिका कार्यालय, विद्युत् शाखाका इन्जिनियर किशनकुमार शाहले सडकमा बल्ने झिलीमिली बत्तीले धनगढीको स्वरुप फेरिएको बताए । उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीचको सम्झौताबमोजिम ट्राफिक चोकदेखि धनगढी विमानस्थल जाने सडकको भागमा दुई सय ४० वटा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएका छन् । सोही सडकखण्डका एक सय ४० वटा ‘टि गार्ड’मा ‘स्ट्रिपलाइट’ जडान गरिएका छन् ।
प्रकाशित मिति: २०२४-११-०७ , समय : ०६:५४:३० , २ महिना अगाडि