काठमाडौं महानगरले तीन ठाउँमा नेपाल-बंगलादेशबीच फाइनल खेल प्रत्यक्ष प्रसारण देखाउने

काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र चाबहिलमा ठूलो पर्दामा खेल देखाउने मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।

नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्या टिकट बेचेको हो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो ।

एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै टिकट बिक्री भएकाले उक्त संख्यामा टिकट उपलब्ध गराइएको एन्फाले जनाएको छ । त्यस्तै भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गरेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-३० , समय : १६:४७:१० , २ महिना अगाडि