नेपाल–बंगलादेशबीचको फाइनलको टिकट काट्न ३ बजेदेखि लाइनमा, टिकट नपाएपछि नाराबाजी

काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज (बुधबार) बंगलादेश र नेपाल भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ पौने सात बजे खेल सुरु हुनेछ ।  खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ ।

अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमताभन्दा बढि बिक्री भएको पाइएपछि एन्फा आफैले बुधबार बिहानैबाट टिकट बिक्री गरेको हो । फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरू रातिदेखि नै लाइनमा लागेका थिए । जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटर पछाडि सयौं दर्शकहरू टिकट काट्नका लागि लाइन बसेका थिए ।

भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिएका छन् । उनीहरूले एन्फाविरूद्ध नाराबाजी गरिरहेका छन् । भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो ।

८० लाखमा टेण्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो। जबकी रंगशालाको क्षमता १४ हजारको हो । फाइनल खेलमा सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि वस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ । प्रहरीले लाइनमा लागेका दर्शकलाई माइकिङ गरेर दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीका बारेमा जानकारी गराएका थिए । फाइनल खेलमा पानीको बोतल समेत निषेध गरिएको छ ।

प्रकाशित मिति: २०२४-१०-३० , समय : १२:२०:१८ , २ महिना अगाडि