अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुँदैन : ईश्वर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् । एमालेले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्नेमा पार्टी दृढ रहेको बताए ।

उनले केहि कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोशिस भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको चेतावनी दिए । सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।

पछिल्लो समयमा सहकारी ठगीको अनुसन्धान गर्न रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनीमाथि पोखरामा छानबिन भइरहेको छ । आउँदो निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भए पनि मुलुकमा संकट परेका बेला ठूला दलहरू एक हुनु परेको उनले बताए । पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने उल्लेख गरे ।

प्रकाशित मिति: २०२४-१०-२७ , समय : १२:५२:३८ , २ महिना अगाडि