काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु अनैतिक रहेको निष्कर्ष निकालेको हो ।
समितिले कारबाही सिफारिस गरेकामध्ये रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गरिरहेको छ । सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको हो ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले उचित नभएको प्रतिकृया दिनुभयो ।
फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष रहेको उहाँले जानकारी दिनुभयो । ‘संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्ददा सहज रुप लिनुपर्ने उहाँले बताउनुभयो ।
सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै एमाले महासचिव पोखरेलले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताउनुभयो । उहाँले भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति: २०२४-१०-२३ , समय : १५:३८:०६ , २ महिना अगाडि