काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति अधिकतम १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । आज (सोमबार) देखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो ।
प्रस्तावित विधानमा १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ । जसमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहने उल्लेख छ । नेसपाको सङ्गठनात्मक स्वरूप र संरचनामा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ भने सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरूको व्यवस्था गरिएको छ ।
पोखरा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । २०७९ साल असारमा जनता समाजवादी पार्टीबाट अलग भएर गठन भएको नेसपाले पहिलो पटक विधान अधिवेशन गर्न लागेको हो । पोखरा सभागृहमा दिउँसो १२ बजेपछि सुरु हुने अधिवेशनको औपचारिक उद्घाटन हुनेछ।
उद्घाटनपश्चात बन्द शत्र सुरु हुने नेसपा नेता किरण थापा (आमोद) ले बताए । उनका अनुसार बन्द शत्रमा विधान मस्यौदा र राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।प्रतिवेदनमाथि समूह विभाजन गरेर छलफल हुने थापाको भनाइ छ । समूहबाट आएको छलफललाई समेटेर विधान मस्यौदा र राजनीतिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिनेछ । विधान अधिवेशनले नयाँ वैकल्पिक शक्ति र समाजवादको अपरिहार्यताबारे छलफल गर्नेछ । देशभरबाट पाँच सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।
प्रकाशित मिति: २०२४-१०-२१ , समय : १४:३४:०१ , २ महिना अगाडि