असोजमा ५३ हजार कामको खोजी विदेशीए, मलेसिया मात्र ४३ जना

काठमाठौँ- असोजमा ५३ हजार ५ सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्।

असोजमा म्यानपावर कम्पनीमार्फत २४ हजार ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृति लिनेहरू भमे १९ हजार ३ सय ५६ जना रहेका छन्। सबै प्रक्रियाबाट असोजमा ५३ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। गत बर्ष असोजमा ३१ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए।

साउदी १० हजार, कतार ९ हजार ७ सय, कुवेत ३ हजार ८ सय, कोरिया १ हजार १ सय ६ जना र जापान १ हजार ४ सय ५६ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।

यस्तै, युरोपेली देश रोमानिया २ हजार २ सय जना, ओमान २ सय ७२ जना, क्रोएसिया ७ सय ८३ जना, साइप्रस ४ सय ८५ जना गएकोमा म्यानपावर मार्फत ४ सय २३ जना, जोर्डनका लागि १ सय ७ जना, मलेसिया ४३ जना र मरिससमा ८७ जना गएको विभागले जनाएको छ।

मलेसियाको रोजगारी बन्द भएका कारण त्यहाँ जाने कामदारको संख्या घटेको विभागले जनाएको छ। गत मार्चदेखि मलेसियाको रोजगारी बन्द छ। असोज र कात्तिक नेपालीका चाडपर्वका महिना भएपनि वैदेशिक रोजगारमा जाने क्रम अघिल्ला महिनाजस्तै यथावत् देखिएको छ।

प्रकाशित मिति: २०२४-१०-१८ , समय : १२:०६:३९ , २ महिना अगाडि