प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अमेरिका भ्रमणमा हुँदा नेपालमा आएको प्राकृतिक विपत्तिका बारेमा निरन्तर आफू सम्पर्कमै रहेर काम गरेको दाबी गरेका छन्।
सोमबार अपरान्ह अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले गत असोज ११ र १२ गते आएको वर्षाका कारण भएको विपत्तिबारे जानकारी लिएर आफू तत्काल अमेरिकाबाट फर्किएको बताए।
‘१० गते त्यस्तो भइसकेपछि ११ र १२ गते म त आउने तयारीमै हुँदै थियो। १२ गते बिहानै पानी पर्दापर्दै अमेरिकाबाट हिँडेको हुँ। म यहाँ भइनँ भन्ने कुरा पनि मान्छेले उठाए,’ प्रधानमन्त्री ओलीले भने।
उनले आफू त्यसबारे सबै कुरामा अलर्ट भएर सरकारका निकायलाई परिचालन गर्न निर्देशन दिएको बताएका छन्। ‘म जानुअघि नै विपत्ति भएको होइन। ७ गते अलर्ट भइससकेपछि मेरो कुराकानी भइरहेको थियो। सरकारसँग पनि, मन्त्रीजीहरूसँग कुरा भएको थियो। सबै ठिक ढंगबाट जाने भन्ने थियो। मलाई पनि यस ढंगको अनुमान थिएन,’ प्रधानमन्त्री ओलीले भने।
प्रकाशित मिति: २०२४-१०-०१ , समय : १७:१९:३४ , ३ महिना अगाडि