दाङ । शिरमा ढाका टोपी । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आए । दसैं खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कासी उपहार दिए । सुर्खेतमा बस्दै आएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार यहाँ आईपुगेका हुन ।
‘यो काठको कोशी हो । हातैले बनाएको । यस्तो कोशी बनाउन थालेको धेरै भइसक्यो’उनले भने,‘मुख्यमन्त्री ज्यू, दसैं त आईहाल्यो त । खर्च चाहियो ।’ दसैं खर्च माग्न यसपालि शाही एक्लै लुम्बिनी प्रदेश सम्म आईपुगे । ‘साथीहरु आउन थालेका थिए । गाडी चढ्न डराए’ उनले भने, ‘मरे मै मरुला भनेर आएँ ।’
राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक बर्ष दसैं खर्चको लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रो संग दसैं मनाउन दिलहादुर मार्फत सन्देश पठाए । त्यसैगरी उनले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई पनि भेटेका छन । उनले मुख्यमन्त्री आचार्यलाई जस्तै काठको कोसी उपाहार दिएका छन् ।
प्रकाशित मिति: २०२४-०९-१९ , समय : १२:२०:२७ , ३ महिना अगाडि