काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति तहमा देखिएको अस्थिरतालाई संविधान संशोधनको माध्यमबाट हटाउन सकिने बताएका छन् । आज (बिहीबार) संविधान दिवसको अवसरमा बिहीबार टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर देशमा देखिएको अस्थिरतालाई हटाउने प्रयास गरिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । उनले संशोधन प्रक्रियामा संसदको गणतीय संख्यामा मात्रै नभइ सबै राजनीतिक दलको सहमति जुटाउने अधिकतम प्रयास गरिने बताए । ‘राजनीति तहमा देखिएको अस्थिरतालाई संविधान संशोधनको माध्यमबाट गर्न सकिन्छ । यसप्रति राष्ट्रिय चासो पनि छ’, प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन प्रक्रियामा संसद्को गणितीय संख्या मात्रै हेर्ने छैनौं सरकारमा रहेका राजनीतिक पार्टीहरूको मात्रै नभइ सकेसम्म सबै दलको सहमति प्राप्ति गर्ने अधिकतम प्रयास गर्नेछौ ।’
उनले संविधानलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, ‘समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधानहरू हटाउने हो, परिमार्जन गर्ने हो । विद्यमान संविधानका नमिल्दा पक्षमाथि संशोधन गर्दै लैजानु पर्छ ।’ प्रधानमन्त्री ओलीले संविधानले प्रत्येक नागरिकलाई मर्यादा, कर्तव्य र अधिकार दिएको बताए । अपवाद बाहेक संविधानले सबै नेपालीको भावनालाई समेटेको बताउँदै प्रधानमन्त्री ओलीले संविधान समयानुकूल संशोधन हुने विश्वास व्यक्त गरे ।
उनले अहिले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताए । उनले भने, ‘विकासका लागि स्थायित्व चाहिन्छ । अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थिरता र नीतिमा निरन्तरता आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले काम गरेर देखाउने र गरेकै कामले आशा भर्नेबाहेक वर्तमान सरकारको अर्को एजेण्डा नभएको बताएका हुन् ।
प्रकाशित मिति: २०२४-०९-१९ , समय : १२:१२:२९ , ३ महिना अगाडि