विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको चार दिने ‘कृषि एक्स्पो’ सम्पन्न भएको छ । एक्स्पोको लाख भन्दा वढी उपभोक्ता, सरोकारबालाहरु र विद्यार्थीहरुले अवलोकन गरेका छन् ।
एक्स्पोको आज समापनका दिनसम्ममा कोशी, मधेश प्रदेशका कृषक, सर्वसाधारण, विभिन्न कलेजमा कृषि अध्ययन विद्यार्थीहरु र भारतको अररिया जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले किसानहरुको उत्पादन वृद्धि गर्नका लागि आधुनिक कृषियन्त्र, उपकरण र औजारहरु, उन्नत मल बिउ तथा खेतीको आधुनिक तरिका बारेमा जानकारीले एक्स्पो उपलब्धिमूलक भएको बताउनु भयो । प्रदेश सरकारले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने उहाँले बताउनु भयो ।
आयोजक महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो आफ्नो उद्देश्यमा सफल भएको बताउँदै आगामी वर्षमा थप परिमार्जनसहित आयोजना गर्ने बताउनुभयो ।
कोशी प्रदेश, भारतको विहार र बङ्गालका १३० बटा स्टलमा नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षि, पर्यावरण– मैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल , नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती , कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको थियो ।
प्रकाशित मिति: २०२४-०९-१६ , समय : ०७:१६:२४ , ३ महिना अगाडि