काम गर्न कहीँ कतै नजराना (कोसेली/उपहार) बुझाउनु नपर्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायमा हुनुपर्ने कामको फाइल नरोकिने बताएका छन् ।

काठमाडौंको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटेल लेमट ट्री प्रिमियरको शनिबार उद्घाटन गर्दै उनले कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्नेबारे ‘ट्रयाकिङ’ प्रविधि बनाइएको जानकारी गराए ।

व्यवसायीले निर्बाध रूपमा व्यावसायिक काम गर्न सक्ने उनले उल्लेख गरे । काम गर्न कहीँ कतै नजराना (कोसेली/उपहार) बुझाउनु नपर्ने उनले बताए ।
प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको सुनाए । सुशासनसहित छिटोछरितो राज्यका सेवा जनतालाई दिन सरकार अग्रसर रहेको उनले स्पष्ट पारे ।

उनले व्यवसायीलाई सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाए । साढे दुई अर्ब रुपैयाँको लगानीमा पाँच वर्षमा उक्त होटेल निर्माण गरिएको जनाइएको छ ।

प्रकाशित मिति: २०२४-०९-१४ , समय : १७:२४:२६ , ३ महिना अगाडि