विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको बताएका छन् ।
विहीबार विराटनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उनले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहिन टिप्पणी हुने गरेको बताए । संघीयता आएपछि सबै भन्दा बढी विकास निर्माणमा प्रदेश सरकार अगाडि रहेको जिकिर उनको थियो ।
उनले विगत ३० वर्षमा हुन नसकेको काम संघीयता आएपछि भएको दाबि गरे । उनले भने, ‘तर प्रचार प्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ, हामी माथि प्रहार भएको छ ।’
मुख्यमन्त्री कार्कीले ७ वर्षमै संघीयताको विषयमा खारेजीको धारणा बनाउन नहुने बताए । केही अधिकारहरू प्रदेशलाई प्रत्यायोजन हुनै बाँकी रहेको अवस्थामा संघीयता चाहिन्छ कि चाहिन्न भनेर जाँच्ने बेला नभएको उनले बताए ।
मुख्यमन्त्री कार्कीले संघीय सरकार भन्दा पनि स्तरीय बाटो, पुल लगायतका विकास प्रदेश सरकारले गरिरहेको दाबी गरे । तर तथ्य नहेरी प्रदेशको काम छैन भन्ने जस्ता सतही टिप्पणी हुने गरेको भन्दै प्रदेश सरंचनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।
उनले यस्ता टिप्पणी गर्नु अघि महालेखा परीक्षकको प्रतिवेदन हेर्न आग्रह गरे । गएका ७ वर्षमा सबै भन्दा बढी सक्रिय भएर प्रदेश सरकारले नै विकास निर्माणको काम गरिरहेको भन्दै यसलाई महालेखा परीक्षकको प्रतिवेदनले पनि पुष्टि गर्ने बताए ।
कोशी प्रदेश सरकारको समन्वय एव् फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक गोपी अछामी, पूर्वसंसदका पुर्व सांसद तथा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रकाश पन्थले संघीयता सबलीकरणमा तीन वटै तहको महत्त्वपूर्ण भूमिका रहने धारणा राखेका थिए ।
सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले सातै प्रदेशका कार्यक्रम सकेर प्रतिवेदन संघीय तथा प्रदेश सरकार र दलका नेताहरूलाई बुझाउने बताए ।
प्रकाशित मिति: २०२४-०९-०५ , समय : १८:०१:४९ , ४ महिना अगाडि