काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई तीन लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेशाकी आमा पनिता गोवर्धन र बुबा प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।
पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् ।
रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेकी थिइन् । पेरिस पाराओलम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
यसअघि बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थल हुँदै नगर परिक्रमा गराइएको थियो ।
प्रकाशित मिति: २०२४-०९-०४ , समय : १८:५२:५७ , ४ महिना अगाडि