एमाले सांसद शर्मालाई कहिले समाउने भन्दै प्रधानमन्त्री ओलीलाई बालेन शाहको प्रश्न

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन् । उनले एमाले सांसद शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएको र दैनिक कुटपिटसमेत गरेको दाबी गरेका छन् ।

काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दापनि अहिलेको सरकारले नसमाएकोमा आक्रोश पोखेका छन् । उनले अदालतले पनि मुद्दा चलाउन भनिसकेको कुरा प्रधानमन्त्री ओलीलाई सम्झाएका छन् । एमाले सांसद शर्माको तस्विर सार्वजनिक गर्दै मेयर शाहले तत्काल बाल शोषणको मुद्दामा समाउन भनेका छन् । उनले फेशबुकमा लेखेका छन्-

वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।
कहिले समाउने ? कि नसमाउने ??

प्रकाशित मिति: २०२४-०९-०२ , समय : १०:२८:३५ , ४ महिना अगाडि