तनहुँ । जिल्लाको भानु नगरपालिकाले पशुपालन किसानलाई अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएका छन् । नगरपालिकाले अनुदान दिन थालेपछि किसानहरु पशुपालन व्यवसायमा लागेका छन् ।
गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी रु तीन हजारका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् ।
नगरपालिकाले घाँसखेतीका साथ पशुपालन गर्दै आएका किसानलाई अनुदान रकम प्रदान गरेको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । किसानले कुल एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेबापत रु पाँच लाख ५५ हजार अनुदान प्रदान गरिएको उनले बताए ।
“पछिल्लो समय किसानले घाँसखेतीसँगै पशुपालन व्यवसायलाई वृद्धि गर्दै लान थालेका छन्”, उनले भने, “नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उत्प्रेरण गर्ने काम भइरहेको छ ।”
नगरपालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्घ उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो ।
“घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत कृषकले नयाँ प्रजातिका डाले तथा भुइँ घाँस विस्तार गरेका छन्”, ढुङ्गानाले भने, “यस कार्यक्रमले पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी ल्याउने योजना छ ।”
त्यसैगरी नगरपालिकाले दुग्ध उत्पादनका आधारमा अनुदान वितरण कार्य थालेको छ । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान प्रतिस्पर्धाका साथै उत्साहित भएर उत्पादन गर्न लागेका छन् ।
नगरभित्रका दुई वटा दुग्ध उत्पादन सहकारीमार्फत रु चार लाख २० हजार रकम अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
उनका अनुसार उत्पादनका आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ । नगरपालिकाले किसानलाई प्रतिलिटर रु तीनका दरले अनुदान दिइरहेको छ ।
किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र नगरलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको नगरप्रमुख आनन्द त्रिपाठीले बताए ।
प्रकाशित मिति: २०२४-०९-०१ , समय : १६:३१:१४ , ४ महिना अगाडि