गोर्खाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारमा ३३ वर्षे गोठालो जीवन बिताउने क्रममा ‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश मोक्तानले नागरिकता बनाएका छन् ।
‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’का पात्र प्रकाश मोक्तानलाई आइतबार षडानन्द नगरपालिका-१०, साङपाङस्थित उनको घरमै नेपाली नागरिकता हस्तान्तरण गरिएको हो ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले प्रकाशलाई नेपाली नागरिकता हस्तान्तरण गरे । वडा नम्बर १० का अध्यक्ष प्रेम दोर्जी शेर्पाको सिफारिसमा उनलाई इलाका प्रशासन कार्यालय दिङ्लाले नागरिकता दिएको हो ।
त्यसक्रममा प्रकाशको घरमा इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली र षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं पनि उपस्थित थिए ।
प्रकाश गत १३ भदौमा गोरखाको चुमभ्याली छाडेर घर फर्किएका थिए। काठमाडौंबाट जहाजमा तुम्लिङटार झरेर शनिबार घर पुगेका उनले अब गाउँमै बस्ने योजना बनाएका छन् । आफ्नो नाममा कुनै जग्गा नभएका उनलाई गाउँमै राख्ने तयारी गरिएको छ ।
उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको थियो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।
प्रकाशित मिति: २०२४-०९-०१ , समय : १५:३९:०९ , ४ महिना अगाडि