भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख भ्रष्टाचार कसुरको पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेका थिए ।
त्यसपछि उक्त बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाएको हो । भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादबारे सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो ।समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादसम्बन्धी दफालाई सरकारको प्रस्तावमा सर्वसम्मतिले हटाउने निर्णय गरेको जानकारी दिए । अब विधेयकमा कुनै पनि हदम्यादको कुरा उल्लेख नरहेको उनले बताएका छन् ।
त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधानमा समिति, सदन र नागरिक समाजमा पनि छलफल भइरहेको अवस्थामा उक्त व्यवस्था हटाउन प्रस्ताव गरेका थिए ।उनले हिजो सरकारले ल्याएको विधेयकलाई अहिलेको सरकारले अपनत्व लिने भन्दै जनसरोकारलाई मध्यनजर गर्दै पाँच वर्षे प्रावधान हटाइएको उल्लेख गरे ।
प्रकाशित मिति: २०२४-०८-३० , समय : १६:५५:४२ , ४ महिना अगाडि