सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित हुँदै हुँदैन : प्रदेश प्रमुख जोशी

कर्णाली : कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताएका छन्।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उनले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताए।प्रदेश प्रमुख जोशीले भने, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो। यसको भरपूर उपयोग हुन जरुरी छ। भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।” कृषि, प्राकृतिक,सांस्कृतिक र साहसिक पर्यटनका माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन सकिने उनले बताए।

मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानको स्मरण गर्दै उहाँहरूका परिवारका एक–एकजना सदस्यलाई रोजागरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए।सीमाङ्कनको विषयलाई लिएर २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका कुँवर, बिसी, गौतम र रजवारको निधन भएको थियो। सहिद तथा प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरुले प्रादेशिक सहिद पार्कमा सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरे।

कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोटका पत्रकारद्वय राजेन्द्र कार्की र यज्ञबहादुर खत्री तथा कालीकोटका तुलराम पाण्डेलाई जनही ५० हजार प्रदान गरिएको छ।कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा डा डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य दश कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको छ। थाहाखबरबाट साभार

प्रकाशित मिति: २०२४-०८-२० , समय : २०:४४:०२ , ४ महिना अगाडि