काठमाडौँ महानगरले दियो महिला भलिबल टिमका सदस्यलाई जनही एक लाख, अफिसियललाई ५० हजार

काठमाडौँ महानगरपालिकाले सेन्ट्रल एसियन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय भलिबल टिमलाई नगद पुरस्कारले सम्मानित गरेको छ ।

बुधबार भएको फाइनल खेलमा भारतसँगको प्रतिस्पर्धामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई महानगरले बिहीबार सम्मानसहित पुरस्कृत गरेको हो ।

काठमाडौँ महानगरले राष्ट्रिय टिमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले एक एक लाख नगद पुरस्कार प्रदान गरेको छ भने तीनजना अफिसियललाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको हो ।

खेलाडीसहितको टिमलाई सम्मान र पुरस्कृत कार्यक्रममा महानगरका मेयर बालेन्द्र (बालेन) शाह, उपमेयर सुनिता डंगाल तथा महानगरका कर्मचारीहरू उपस्थित थिए ।

सो क्रममा मेयर शाहले खेलाडीहरुलाई भने, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’

दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । खेलमा ५ वटा देश सहभागी थिए । सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुदको भलिबल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति: २०२४-०८-०८ , समय : १५:३०:३४ , ५ महिना अगाडि