दाङको राप्ती गाउँपालिकाका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरुङ ऋण तिर्न भन्दै विदेश गएका छन् ।वडा सदस्य चम्फा पुनलाई कार्यवाहक दिएर गुरुङ आइतबार बेलायत (यूके) गएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट विजयी भएका थिए ।गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राजीनामा नदिई वडाअध्यक्ष विदेश गएको बताए । गुरुङ यस अघि सोही वडा कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । तत्कालीन वडा अध्यक्ष गोर्कणबहादुर रानाले गुरुङलाई कार्यालय सहयोगीका रूपमा राखेका थिए ।निर्वाचनमा उम्मेदवार बन्दा, छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि गुरुङ बेलायत गएका उनकी श्रीमती संगीताको दाबी छ ।
‘निर्वाचनमा उम्मेदवार भएपछि लागेको ऋणसहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा धेरै ऋण लाग्यो,’ संगीताले भनिन्, ‘लिएको ऋणमा ब्याज थपिँदै गयो । करिब ४० लाखसम्म ऋण पुग्यो । लागेको ऋण तिर्ने कुनै उपाय रहेन, त्यहीँ भएर विदेश जानुभयो ।’पछिल्लो समय निर्वाचन खर्चिलो बन्दै गइरहेको छ ।वडा सदस्य पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गुरुङ विदेश गएका वडा नम्बर ८ का सचिव असलेक चौधरीले जानकारी दिए ।गुरुङका दुई छोरा र श्रीमती छन् । राप्ती लुम्बिनी प्रदेशको राजधानी रहेको गाउँपालिका हो ।वडा अध्यक्ष गुरुङले आफू बेलायत पुगिसकेको समेत परिवारलाई जानकारी गराइसकेका छन् ।
प्रकाशित मिति: २०२४-०८-०६ , समय : १९:२७:०९ , ५ महिना अगाडि