मोरङ क्षेत्र न.६ को विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न

नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले साउन मसान्तभित्र मोरङ निर्वाचन क्षेत्र न.६ भित्रका २० वटा वडामा सदस्यता नवीकरण तथा पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताउनु भएको थियो ।

बस्नेतले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेताहरूको पृष्ठपोषण लिने कार्यले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने बताउँदै वडालाई बलियो बनाएर पार्टीलाई क्षेत्र न.६ मा सफल बनाउने बताउनु भएको थियो । बस्नेतले मिसन ०८४ सफल बनाउन वडा तहबाटै अभियान थाल्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

भेलामा नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जिल्लाभर १६ हजार ५ सय पार्टी कार्यकर्ताको सदस्यता नवीकरण भइ सकेको जानकारी दिनु भएको थियो । कार्कीले जिल्लामा एमालेका वडा कमिटीहरूले बलियो ढङ्गले पार्टीको काम गरेको बताउनु भयो ।

भेलामा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी निर्माणमा वडा कमिटीहरूले गरिरहेका गतिविधिले नै पार्टीको मिसन ०८४ सफल पार्ने धारणा व्यक्त गर्नु भएको थियो । खतिवडाले पार्टी विधान विपरित गरिने गतिविधिले पार्टीलाई कमजोर बनाउने र त्यस्ता कुरा मान्य नहुने तर्क राख्नु भयो । खतिवडाले पार्टीभित्र हुने आलोचना, आत्मलोचना र कारबाही कसैलाई सक्न नभएर सपार्नलाई हो भन्ने बुझ्न निर्देशन दिनु भएको थियो ।

एमालेका केन्द्रीय कार्य समिति सदस्य रामलाल साहले सम्पूर्ण कार्यकर्ता पंक्ति सजहतासाथ पार्टी कार्यमा जुटेर पार्टीको राम्रो कामको प्रचार गरेमा मिसन ०८४ सफल हुने बताउनु भएको थियो ।

एमाले केन्द्रीय कार्य समिति सदस्य तथा मोरङका इञ्चार्ज जीवन घिमिरेले वडा कमिटीबाट आएका सुझावलाई जिल्ला कमिटीले मनन गर्ने बताउँदै सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका अपेक्षाबिच पुलको काम गर्ने संयन्त्र सक्रिय बनाउने बताउनु भएको थियो ।

त्यस्तै क्षेत्रीय समन्वय समितिकोे विस्तारित भेलामा नेकपा एमालेको ३४ औँ सचिवालय बैठकबाट जिल्ला इञ्चार्जको जिम्मेवारी पाउनु भएका केन्द्रीय सदस्य जीवन घिमिरेलाई सम्मान गरेको छ साथै जिल्ला सङ्गठन समितिका पदाधिकारीलाई समेत सम्मान गरेको छ ।

कार्यक्रमको सञ्चालन गर्नु भएका नेकपा एमाले विराटनगर महानगर समितिका सचिव रोहित कोइरालाका अनुसार भेलामा सुन्दरहरैँचा नगरपालिका, बुढीगङ्गा गाउँपालिका र विराटनगर महानगरपालिकाका २० वटा वडाका अध्यक्ष, सचिव तथा सोही स्थानीय तहका पार्टीका अध्यक्ष, सचिवले पार्टी कमिटीको विषयमा प्रस्तुती दिनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०८-०६ , समय : १८:०५:१० , ५ महिना अगाडि