बंगलादेशको प्रदर्शनमा मारिनेको सङ्ख्या ९० पुग्यो

बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच आइतबार भएको झडपका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९० पुगेको छ ।

मृत्यु भएका मध्ये कम्तिमा १३ जना सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । सिराजगञ्ज जिल्लामा रहेको एक प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गर्दा प्रहरीहरुको मृत्यु भएको हो ।आरक्षण विरोधी आन्दोलन गर्दै आएका विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सुरु गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत आइतबार विद्यार्थीहरुमाथि बर्बर दमन भएको थियो ।

यसअघि पहिलो चरणमा भएको आन्दोलन पनि हिंसात्मक बनेको थियो । जसमा थुप्रै विद्यार्थी मारिएका थिए । आन्दोलनका क्रममा अहिलेसम्म मारिनेको सङ्ख्या २८० नाघेको छ ।बंगलादेशमा थप हिंसालाई रोक्नको लागि अनिश्चितकालीन राष्ट्रव्यापी कर्फ्यू लगाइएको छ । बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि नै देशभर कर्फ्यूको घोषणा गरेको थियो । कर्फ्यु अवधिमा फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।यसैबीच, संयुक्त राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गर्दै सरकार र राजनीतिज्ञहरूलाई संयमता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२४-०८-०५ , समय : १०:३३:५५ , ५ महिना अगाडि