बर्जुमा १० हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

बर्जु,फागुन १५ । बर्जु गाउँपालिकाले दादुरा–रुबेला खोप अभियान सन्चालन गर्ने भएका छन् । यो अभियान फागुन २१ गतेदेखि फागुन ३० गते सम्म जारी रहने स्वास्थ्य संयोजक रामबाबु श्रेष्ठले बताएका छन् । आज ( मंगलबार) बर्जु गाउँपालिकाको सभाहलमा खोप अभियानको अभिमुखिकरण कार्यक्रममा दादुरा रुबेला खोपको महत्व र यो खोप किन आवश्यक छ भन्ने बारेमा अन्तरक्रिया गरेका छन् ।
बर्जु गाउँपालिकामा १० हजार ५ सय ९४ जना बालबालिकालाई खोप लगाईने भएको छ ।

राष्ट्रिय रुपमा खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइनेछ । यस्तै, ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइनेछ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ ।

९ महिनादेखि ५ वर्षमुनिका २१ लाख ३० हजार ६ सय ८३ बालबालिका र ५ वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३ सय १० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७ सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै, ४९ हजार ९ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९ सय ६ जना स्वयम्सेवक परिचालन गरिनेछ । स्वास्थ्य मन्त्रालयले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ(आफ्ना बालबालिकालाई खोप लगाउन आह्वान गरेको छ । मन्त्रालयले खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाएको छ ।

खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको कन्हैया साहले बताएका छन् । उनले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले जिल्लास्तरमा आकस्मिक उपचार टोलीसमेत गठन गरिएको बताए ।

हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताए । ती खोप लगाउन छुटेका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए ।

सरकारले सन २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो ।

प्रकाशित मिति: २०२४-०२-२७ , समय : २०:३७:५५ , १० महिना अगाडि