केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि संघ र प्रदेशहरुमा एमाले–कांग्रेसको संयुक्त सरकार गठन तीव्र छ । कोशीमा पनि चाँडै एमाले–कांग्रेस संयुक्त सरकार निर्माणको प्रकृया सुरु भइसकेको छ ।
कोशीका निवर्तमान मुख्यमन्त्री आन्दोलिततर, कोशीमा सत्ता आरोहणको तयारी गरिरहेको नेपाली कांग्रेसका प्रदेश सभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको ‘मनपरी’ विरूद्ध संघर्ष गर्ने घोषणा गरेका उनले आन्दोलनको रुपरेखाबारे भने प्रष्ट पारेका छैनन् ।
बजेटप्रति तीव्र असन्तुष्ट पोखेका कार्कीले सेटिङ मिलेका ठाउँमा मात्रै बजेट खन्याएको आरोप लगाए । ‘जहाँ–जहाँ सेटिङ, त्यहाँ–त्यहाँ बजेट’, कार्कीले भने । उनले अघिल्लो पटक आफ्नो कार्यकालमा विनियोजित बजेट कटौती गरेको भन्दै त्यसको उनले तीव्र आलोचना गरे ।
‘जनताले प्रत्यक्ष सेवा पाउने बजेट कटौती गरेर सेटिङका र कार्यकर्ता पोस्ने खालका बजेटमा मुख्यमन्त्रीको चासो देखिएको छ’, कार्कीले भने, ‘त्यही मनपरी र बेथितिविरुद्ध मैले संघर्ष गर्ने निधो गरेको हुँ ।’
अघिल्लो वर्ष पार्टी भित्रै विद्रोह गरेका कार्की एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई गत वैशाख २९ मा प्रदेश प्रमुखले पदमुक्त गरेका थिए । आफ्नो कार्यकालमा उनले १० वर्ष मुनिका बालबालिकालाई नि:शुल्क उपचार लगायतका लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गरेको तर अहिलेको सरकारले कार्यान्वयनमा तगारो लगाएको आरोप उनको छ ।
प्रकाशित मिति: २०२४-०८-०१ , समय : ०९:२३:२० , ५ महिना अगाडि