कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना हुने

विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) ले कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको छ । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले यस क्षेत्रमा आयोजना गर्न लागेको पहिलो प्रादेशिक कृषि एक्स्पो पनि हो ।

कोशी प्रदेश सरकारसँग सहकार्य गरेर नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको मोरङ जिल्लाको कटहरी गाउँपालिका स्थित कृषि थोक बजार केन्द्रमा भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि एक्स्पोको आयोजना गर्न लागेको हो ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योग राजेन्द्र राउतले कृषिमा सम्भावना बोकेको प्रदेशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजार समक्ष कसरी पुर्‍याउने विषयमा नेपाल र भारतका कृषि विज्ञसँग छलफल चलाउने गरी कृषि एक्स्पोको आयोजना गर्न लागेको बताए ।

कोशी प्रदेशको पहाडी जिल्लाका किसानलाई ल्याएर कृषि एक्स्पोको अवलोकन गराउने कार्यक्रम रहेको छ । कृषिमा भित्रिएको नयाँ प्रविधिको बारेमा जानकारी गराउन र उत्पादन बढाउन किसानलाई कृषि एक्स्पोमा ल्याउन लागिएको अध्यक्ष राउतले बताए ।सोमबार चिरफार डटकमसँग कुरा गर्दै अध्यक्ष राउतले भने एकरात बास बस्ने गरी पहाडी जिल्लाका किसानलाई कृषि एक्स्पोमा ल्याउने र अवलोक गराएर फर्काउने कार्यक्रमको लागि लाग्ने खर्च नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले बेहोर्ने छ ।

२०८१ भर्दौ २७, २८, २९ र ३० गते गरी ४ दिनसम्म सञ्चालन हुने कृषि एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले तयारी सुरु गरिसकेको छ ।

प्रकाशित मिति: २०२४-०७-३० , समय : १६:४३:५४ , ५ महिना अगाडि