विराटनगर । विराटनगर महानगरपालिकामा एक जना ब्यवसायीको कार्यालयबाट दिनदहाडै झण्डै साढे १४ लाख रुपैया लुटपाट भएको छ । मोटरसाइकलमा आएका दुईजना लुटेराले लुटपाट गरेको गरेको पीडितले बताए ।
विराटनगर–३ हलेसी टोलमा आईतबार दिउँसो ३ बजे रकम लुटिएको हो । सो ठाउँमा पाथिभरा जब प्लेसमेन्ट प्रालि संचालन गर्दै आएका ब्यवसायी विवेक कर्णको कार्यालयबाट १४ लाख ४७ हजार रकम लुटिएको हो ।
घटना विवरण अनुसार कार्यालयका कर्मचारी अमरेश कर्णले दिउसो १ बजे महानगरकै कंचनवाडी शाखाबाट चेक साटेर नगद ल्याएका थिए । चेक साटेर कार्यालय नजिकै रहेको घरमा खाना खाएर रकम सहित कार्यालय फर्किएका कर्णले अफिस कोठाको कुर्सीमा रकम भएको झोला राखेका थिए ।
झोला राखेर विपरित दिसातर्फ रहेको दराजबाट फाईल निकाल्दैगर्दा कार्यालय कोठामा प्रवेश गरेका अपरिचित ब्यक्तीले नगद सहितको झोला लिएर मोटरसाईकलमा भागेको पाथिभरा जब प्लेसमेन्टका संचालक विवेक कर्णले जानकारी दिनसुभयो ।
कर्ण निर्माण ब्यवसायी समेत हुनुहुन्छ । उहाँले आफ्नै घर पछाडिको टहरो कोठामा पाथिभरा जब प्लेसमेन्ट सहित खडकदेवी निर्माण सेवा प्रालिको कार्यालय संचालन गर्दै आएका छन ।
पाथिभरा जब प्लेसमेन्टले भने उद्योगहरुलाई कामदार सप्लाई गर्ने काम गर्दै आएको छ । मजदुरहरुको भुक्तानीका लागि आफुले बैंकबाट ल्याएको रकम अपरिचत ब्यक्तीले लुटेर लगेको कर्मचारी अमरेश कुमार कर्णले जानकारी दिनुभएको छ ।
बैंकबाट ल्याएको नगद सहितको झोला आफुले कुर्सीमा राखेर दराजतर्फ फर्किएका बेला एकजना युवाले झोला टिपेर कोठा बाहिर निस्कि सक्दा मात्र आफुले थाहा पाएको कर्मचारी कर्णले बताउनुभयो ।
लगत्तै आफुले लखेट्दै जाँदा अघिदेखी नै मोटरसाईकलमा तयारी अवस्थामा रहेका ब्यक्तीको पछाडि सवार भएर दुई जनानै फरार भएको कर्णले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०७-२१ , समय : १९:५९:५३ , ५ महिना अगाडि