सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको दरबन्दी दिन्छौँ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिबद्धता जनाए।

उनले राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने बताए।

अर्थमन्त्री पौडेलले राज्यमा संवद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताए। उनले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्वपूर्ण भूमिका रहेको बताए अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताए।

उनले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोगसहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : १४:३७:२६ , ५ महिना अगाडि