संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताएका हुन् ।

संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक-अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल भौगोलिक रुपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रुपमा रहेको उनको भनाइ छ ।

उनले माघे सङ्क्रान्ति पर्व खस-आर्य, मगर, राई, थारू, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ-आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रुपमा रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०२४-०१-१५ , समय : ०९:३९:५४ , ११ महिना अगाडि