नगर बस सेवा सञ्चालन गर्दै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनका लागि ६ वटा बस खरिद गरेको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी तथा प्रदेशको एकमात्र उपमहानगरपालिका रहेको धनगढीले नगर बस सेवा सञ्चालनका लागि दुई करोड ४८ लाखमा ३२ सिटे ६ वटा बस खरिद गरेर ल्याइसकेको उपमहानगरपालिकाका मेकानिकल सव इन्जिनियर ओम बुढाले बताए ।

उनले फूलबारी–धनगढीचौराहा–सहिदगेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक यातायातका रुपमा नगर बस चलाउन रुट तयार गरेको जानकारी दिए । नगर बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई ३० दिने बोल पत्र समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिकाले ६ वटा बसलाई १० वर्षसम्मका लागि बस सेवा सञ्चालनका लागि ठेक्का लगाइने उल्लेख गरेको छ ।

जारी सूचनामा मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।

पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम, बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ । बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रुटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०२४-०७-२० , समय : ०६:५६:०८ , ५ महिना अगाडि