खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन्।

यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताए। उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागितालाई व्यवस्थित गर्न निर्देशन दिन्छु।’

आउँदो मंसिरमा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न समेत आफूले निर्देशन दिने बताएका छन्। उनले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्ति निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्नेसमेत बताए।

मन्त्री चौधरीले वर्षाका कारण देशभर भएका विपद्‌का घटनाहरूमा नेपाल स्काउटका स्वयंसेवक तथा खेलाडीहरूलाई परिचालित भएर तत्काल राहत तथा उद्धारमा खटिन निर्देशन दिए।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : १८:२४:५१ , ५ महिना अगाडि