कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा २०० बढी खेलाडी तथा प्रशिक्षक सम्मानित

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले दुई राष्ट्रिय स्तरको प्रतियोगितामा कोशी प्रदेशका पदक विजेता खेलाडी , प्रशिक्षक तथा व्यवस्थापकलाई सम्मान गरेको छ। आज विराटनगरमा खेलकुद विकास बोर्डले काठमाडौँमा सम्पन्न १४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड र चितवनमा सम्पन्न अन्तर प्रदेश खेलकुद प्रतियोगिताको कोशी प्रदेशका पदक विजेता खेलाडी , प्रशिक्षक तथा व्यवस्थापकलाई सम्मान गरेको हो।

बोर्डले आयोजना गरेको सम्मान कार्यक्रममा १४ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेश बाट स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार नगद सहित सम्मानपत्र , रजत पदक विजेता खेलाडीलाई जनही १० हजार नगद सहित सम्मानपत्र र कास्य पदक विजेता खेलाडीलाई जनही ७ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको हो। शिल्डमा एकल तथा टिम स्पर्धामा गरेर ४५ जना पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मानपत्र अर्पण गरेको खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले जानकारी दिनु भयो।

बस्नेतका अनुसार रनिङ शिल्डमा सहभागी विजेता खेलाडी तथा टोलीका प्रशिक्षक तथा व्यवस्थापक गरेर ११ जनालाई समेत बोर्डले जनही नगद ७ हजार सहित सम्मान गरेको हो।

त्यस्तै , चितवनमा सम्पन्न अन्तर प्रदेश खेलकुद प्रतियोगिताका एकल तथा टिम स्पर्धामा पदक विजेता १५३ खेलाडीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो। सो प्रतियोगितामा एकल स्पर्धामा स्वर्ण पदक जित्न सफल खेलाडीलाई जनही ५० हजार नगद सहित सम्मानपत्र , रजत पदक विजेता खेलाडीलाई जनही ३० हजार नगद सहित सम्मानपत्र र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार सहित सम्मानपत्र अर्पण गरिएको बस्नेतले बताउनु भयो।

अन्तर प्रदेश प्रतियोगितामा टिम स्पर्धामा स्वर्ण पदक विजेता टिमका सदस्यलाई जनही २५ हजार नगद सहित सम्मानपत्र , रजत पदक टिमका सदस्यलाई जनही २० हजार नगद सहित सम्मानपत्र र कास्य पदक जित्न सफल टोलीका सदस्यलाई जनही १० हजार नगद सहित सम्मानपत्र हस्तान्तरण गरिएको थियो। सो प्रतियोगितामा विजेता खेलाडी र टोलीका २४ जना प्रशिक्षक तथा व्यवस्थापकलाई जनही १५ हजार नगद सहित सम्मानपत्र र जनही १० हजार नगद सहित सम्मानपत्र अर्पण गरिएको थियो।

दुई वरिष्ठ खेलकर्मी सहित प्राविधिक सहयोग उपलब्ध गराउनेलाई सम्मान

कोशी प्रदेश खेलकुद विकास बोर्डले लामो समय देखि खेलकुद क्षेत्रमा गर्नु भएको योगदानको कदर गर्दै दुई वरिष्ठ खेलकर्मीहरुलाई समेत सम्मान गरेको छ। बोर्डले लामो समय देखि विराटनगरमा रहेर फुटबल खेलको क्षेत्रमा योगदान गर्नु हुने सन्तोष बानियाँ तथा झापामा रहेर मार्शल आर्टको क्षेत्रमा योगदान गर्नु भएको मदन उप्रेतीलाई सम्मान गरेको हो।

बोर्डले दुवै वरिष्ठ खेलकर्मीलाई जनही २१ हजार नगद सहित सम्मानपत्रले सम्मान गरेको हो भने विकास बोर्डलाई स्थापनाकाल देखि वेबसाईट र बोर्डले लोगो निर्माण गरेर सहयोग पुर्याउनु हुने विजय बस्नेतलाई नगद ५१ हजार सहित सम्मानपत्रले सम्मान गरेको हो।

सम्मान कार्यक्रममा सम्मानितहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की , कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार , बोर्डका सदस्य सचिव बस्नेत लगायतले सम्मान अर्पण गर्नु भएको थियो।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : १८:२२:०२ , ५ महिना अगाडि