कोशीमा अन्तराष्ट्रिय मापदण्डको प्रदेश स्तरिय रंगशाला बनाउने : मुख्यमन्त्री कार्की

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तिनवर्षभित्रमा कोशी प्रदेशलाई खेलकुदको महत्वपुर्ण गन्तब्य बनाउने बताउनुभएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आज विराटनगरमा आयोजित खेलाडी तथा खेल क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाले राजनितिक अस्थिरताका कारण यहाँको खेलक्षेत्रको विकास सोचेजस्तो हुन नसकेको बताउनुभयो । तर अब चाँडै नै कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको दौरको अन्त्य गर्दै आगामी अब तीन वर्ष भित्र कोशी प्रदेशलाई खेलकुदको महत्वपुर्ण गन्तब्यका रुपमा स्थापित गर्ने उहाले बताउनुभयो ।

क्रेकेटको माध्यमबाट अन्तराष्ट्रिय जगतमा पहिचान बनाउन सफल भएपनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलीबल लगायत अन्य खेलकुदका विधाहरुमा जुन ढंगले हाम्रो खेलक्षेत्र अन्तराष्ट्रियकरण हुनुपर्ने थियो त्यो हुन नसकेको उहाको भनाइ छ । सरकारको निकाय खेलकुद परिषद्ले खेल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भएपनि जुन मात्रामा उपलब्धी हुनुपर्ने हो त्यो हुन सकेको बताउँदै उहाले राज्यले खेलकुदकालागि बनाएको निती र कानुन लगायत व्यवस्थापकिय प्रबन्धहरुमापनि राज्य चुकेको उहाले बताउनुभयो ।

खेल क्षेत्रको विकासकालागि तिर्न तहका सरकारबिच समन्वय हुन जरुरी रहेको भएपनि त्यो हुन नसकेको उहाले स्विकार गर्नुभयो । ‘राज्यको पुनसंरचनासंगै अहिले स्थानिय, प्रदेश र संघबाट खेलकुदको विकासकालागि केहि पहल र प्रयत्नहरु भएका छन्,’ उहाले भन्नुभयो, ‘यद्यपी खेलकुदको विकासकालागि तिन तहबिच समन्वयात्मक पहल भने हुन सकेको छैन । यसकारणले पनि खेल क्षेत्र पछाडी परेको महसुस भएको छ ।’

प्रदेशको संरचना बनेपछि सबै प्रदेशमा खेलकुद विकास बोर्ड, परिषद्हरु बनेका छन् तर प्रदेशमा देखिएको राजनितिक अस्थिरता कारण ६÷६ महिनामा हुने सरकार परिवर्तनले खेल क्षेत्र प्राथमिकीकरण हुन नसकेको उहाले बताउनुभयो ।

‘कोशी प्रदेशमापनि खेल क्षेत्रको विकासका लागि खेलकुद विकास बोर्ड गठन गरिएको छ । तर त्यो पनि यहाँको राजनितीक अस्थितरताको शिकार बन्यो,’ उहाले भन्नुभयो,‘यद्यपी न्यायालयको फैसलापछि अब भने खेलकुद क्षेत्रलाई पुनः संगठित गर्दैछौं अब चाँडै खेलकुदको विकासकालागि बनाएका ऐन कानुनमा रहेका कमजोरीहरुलाई सच्याउँदै यसको माध्यमबाट कोशी प्रदेश स्तरीय खेलकुद परिषद् निर्माण गर्नेछौं ।’

परिषद््को निर्माणपछि यहाको खेलकुदको क्षेत्रमा नितिगत र व्यवस्थापकिय प्रबन्धहरु, खेलकुदको समग्र विकासकालागि चाहिने संरचनागत विकास र खेलकुदकालागि चाहिने आवश्यक बजेटको व्यवस्था गरेर खेलकुदलाई अगाडी बढाइने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खेलकुदकालागि कोशी प्रदेशमा अन्तराष्ट्रिय मापदण्डको प्रदेश स्तरिय रंगशाला बनाउने, विराटनगरस्थित बैजनाथपुरमा रहेको क्रिकेट रंगशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने, इनडोर र आउटडोर खेलका संरचनाहरु विराटनगरमा निर्माण गरिने तयारी भइरहेको उहाले बताउनुभयो । साथै झापामा आदिवासी जनजाती रंगशाला निर्माण गरेर अन्तराष्ट्रिय खेलकुदको थलोको रुपमा विकास गर्न नेपाल सरकारसंग आवश्यक पहल भइरहेको उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा भर्खरै सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी तथा खेल क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने दुइ सय व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सोहि अवसरमा खेल क्षेत्रमा कलम चलाउने पत्रकार नविन अर्याल, भुमिका पाख्रीन, भुमिराज पराजुली, चुमन बस्नेत, किशोर बुढाथोकी, पुष्पराज थपलिया, लगायतका संचारकर्मीहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०७-१४ , समय : १५:११:११ , ५ महिना अगाडि