झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टचार : पूर्वमन्त्रीलाई ९ वर्ष, अरुलाई ८ वर्ष कैदको फैसला

विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टचार गरेको आरोपमा ५ जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ। सर्लाहीको लालबन्दीस्थित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको आरोपमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद तोकिएको छ।

उनलाई कसुरअनुसार ८ वर्ष र पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला भएको हो। पूर्वमन्त्री कुमारबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रूपैयाँ विगो र जरिवाना असुल हुने ठहर पनि अदालतले गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैदको फैसला भएको छ। उनीहरुबाट पनि २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रूपैयाँका दरले विगो र जरिवाना असुल्ने फैसला विशेष अदालतले गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्वप्रमुख मानबहादुर र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठले सफाइ पाएका छन्।

गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजलाई पेसी तोकेको थियो। विषालु सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि भनेर स्थापना भएको केन्द्रमा मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: २०२४-०७-०९ , समय : २०:२८:५६ , ६ महिना अगाडि