विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीेले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को उद्घाटन गर्दै उनले विपदबाट हुने क्षतीलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षागर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताए ।
आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्र लगायत सबै प्रकारका विपद्को उच्च जोखिममा रहेका स्थानहरुको पहिचान गरी त्यस्ता क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न र त्यसमार्फत नागरिकलाई विपद्को पूर्व सुचना प्रवाह गर्न आन्तरिक मामिला मन्त्रालयलाई उनले निर्देशन समेत दिए।
प्रदेशलाई प्रविधिमैत्री बनाउन के कस्तो कानुनी र नितिगत प्रवन्ध गर्नुपर्छ र यसकालागि के कस्तो जनशक्ति तथा बजेटको व्यवस्था गर्नुपर्छ त्यसको प्रबन्ध गरिने उहाले प्रतिबद्धता समेत व्यक्त गरे ।
सरकारले निर्माण गरेका यस्ता एप तथा पोर्टलहरुको प्रभावकारीताको बारेमा समय समयमा अध्ययन समेत गर्न उनले निर्देशन दिए । ‘सरकारले यस्ता एपहरु बनाउने र केहि समयपछि निस्प्रभावी हुने हो भने बनाउनुको कुनै अर्थ हुँदैन,’ कार्कीले भने, ‘त्यसैले यस्ता पोर्टलहरुको प्रभावकारीताको बारेमा अध्ययन गर्ने, यसले समाजमा पारेको सकारातमक र नकारात्क सबै प्रभावको बारेमा बेलाबेलामा अपडेट गर्नुपर्छ ’।
आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले विपद्को जोखिमबाट नागरिकको सुरक्षा र उद्धारमा प्रदेश सरकार सधै तत्पर रहेको बताए । प्रदेश सरकार आफ्नो साधन स्रोतले भ्याएसम्म नागरिकको सेवामा अहोरात्र खटिरहेको उहाले जानकारी दिए ।
विपद्का घटना भएपछि उद्धार र राहतमा खट्ने मात्र नभइ जोखिमको पूर्व सुचना दिइ नागरिकको जिउधनको रक्षा गर्ने उद्देश्यले नै सरकारले सो पोर्टलको निर्माण गरेको उनको भनाइ छ ।
एक लाख लागतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सो पोर्टलमा (bipad.koshi.gov.np ) सरकारले निर्माण गरेको सो वाढीपहिरो आउने स्थानका नागरिकहरुलाई पूर्व सूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्स लगायतत आकस्मिक सेवाकालागि फोन गर्न सकिने सुविधा समेत उपलब्भ छ ।
पार्टलमा नागरिक सुझाव, गुनासो, स्थलगत आकस्मिक सम्पर्क, प्रकृयागत अवस्थामा आधिकारिक भिडियो सम्वोधन, न्यूज फिड लगायतका सुविधा रहेका छन् ।
प्रकाशित मिति: २०२४-०७-०८ , समय : १९:५८:०७ , ६ महिना अगाडि