महानगरको सडक सौन्दर्यकरणका लागि सिटिजन बैंकको सहयोग

विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि सिटिजन बैंकले २ लाख रुपैयाँ सहयोग गरेको छ ।

विराटनगरस्थित सिटिजन बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दिवश सिंह ठकुरीसहित मुक्तिनाथ तिम्सिना, मीनबहादुर घिमिरे र पुनन बडालले महानगरपालिका मेयर नागेश कोइरालालाई चेक हस्तान्तरण गरे । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

हालसम्म २८ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले बताए । सिटिजन बैंकसहित १५ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २८ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् ।

हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिनुभयो । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ । रोडशेषदेखि दक्षिण मुख्यमन्त्री कार्यालय अगाडिको डिभाइडरमा पनि तारजाली लगाइसकिएको छ ।

वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, १९ का श्याम घिमिरे, कार्यपालिका सदस्य कमला श्रेष्ठसमेतको उपस्थितिमा भएको चेक हस्तान्तरण कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने बताए ।

प्रकाशित मिति: २०२४-१२-२५ , समय : ०७:३३:१८ , १२ घन्टा अगाडि