झापाको कनकाई नगपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७, राप्रपाका नारायणप्रसाद निरौलाले २६, मङ्गोल नेशनल अर्गनाइजेशनका पदम बहादुर तामाङले २०, जनमत पार्टीका शुकलाल राजवंशीले ९, नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशीले ६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दल बहादुर श्रेष्ठले २ मत ल्याएको निर्वाचन कार्यालय झापाले जनाएको छ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत झापाको कनकाई नगरपालिका–६ मा कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको थियो । जसमा ८२४ पुरुष र ६८९ महिलाले मतदान गरेका थिए ।
यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । त्यसभन्दा अघि नेपाली काँग्रेसबाट लक्ष्मीप्रसाद ओली वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले ओली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: २०२४-१२-०२ , समय : ०७:३३:३९ , ३ हप्ता अगाडि