नक्कली शैक्षिक प्रमाणपत्रले अहेवको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एक जना अहेवविरुद्ध आरोपपत्र दायर गरेको छ ।

डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव रमेश बोहराको झुट्टा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी लाभ लिएको पुष्टि हुन आएकाले आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार अहेव बोहराको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको भन्दै आवश्यक छानबिन गर्न उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा बोहराले अहेव पद पाउने उद्देश्यले Council For Technical Education and Vocational Training, OFFICE OF THE CONTROLLER OF EXAMINATIONS, Bhaktapur बाट जारी भएको COMMUNITY MEDICINE ASSISTANT तहको झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्र सेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि  हुन आएको आयोगको दावी छ । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: २०२४-११-२९ , समय : १६:४१:२५ , ३ हप्ता अगाडि