विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताउनुभएको छ ।
आज मोरङको रंगेली नगरपालिका ३ मा रहेको रत्न माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गर्दै विकासका लागि सबै सरकारको सहकार्य हुन पर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासमा पनि सहकार्य आवश्यक रहेको औल्याउनु भयो ।
सिमित श्रोत रहेका कारण एक्लैले विकास गर्न सक्ने अवस्था समेत नरहेको उहाँले प्रस्ट्याउनुभयो । अहिले केन्द्र तथा प्रदेशमा नयाँ सरकार आएपछि केही उत्साह देखिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘अहिलेको सरकार आएपछि केही उत्साह देखिएको छ, अब सबै मिलेर काम गरौँ ।’
उहाँले आर्थिक अवस्था खस्किएकोले विकासको काम सोचेजति हुन नसकेको बताउदै भन्नुभयो – ‘अब प्रदेशले आर्थिक अवस्था सुधार गर्दै छ ,अब काम हुन्छ ।’
मुख्यमन्त्री कार्कीले गत वर्षको तुलनामा यो वर्ष प्रदेशमा १८ प्रतिशत राजश्व बढेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले विद्यालय सुधारका लागि समुदाय नै जागरुक हुनु पर्ने बताउनुभयो । उहाँले शिक्षामा सुधार गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।
यस्तै रंगेली नगरपालिकाका मेयर दीलिप बगडियाले बिधालयमा यातायातका लागि बसको व्यवस्था साथै प्रविधिक शिक्षाका लागि सहयोग गर्न प्रदेश सरकार र संघ सरकारसँग माग गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले रंगेली नगरमा भएका अन्य विकास निर्माणका कामको समेत अवलोकन गर्नुभएको थियो । सिंचाइ , कृषि बजार र कृषि भवनको अवलोकन गर्नु भयो ।
प्रकाशित मिति: २०२४-११-२९ , समय : ०६:५८:५४ , ३ हप्ता अगाडि