जलवायु वित्तको माग गर्दै विराटनगरमा र्याली सम्पन्न

विराटनगर : वैश्विक उत्तरले ( ग्लोबल नर्थले ) आर्थिक वृद्धिका लागि गरेको विभिन्न औद्योगिक गतिविधिद्वारा सृजित वातावरणीय प्रभावको क्षतिपूर्ति वैश्विक दक्षिण ( ग्लोबल साउथ ) ले पाउने पर्ने माग सहित विराटनगरमा जलवायु वित्त र्याली सम्पन्न भएको छ।

आज विराटनगरको हिमालयन रोड बाट सुरु भएको र्याली महेन्द्र चोक, शनी मन्दिर, मैन रोड, हुँदै विराटनगर महानगरपालिकाको परिसरमा समापन भएको हो।

वैश्विक उत्तरले जलवायु वित्त प्रतिको प्रतिवद्धता पूर्ण गर्दै अनुमानित क्षतिपूर्तिको पहिलो किस्तामा रुपमा ५ ट्रिलियन अमेरिकी डलर उपलब्ध गराउनु पर्ने , वैश्विक दक्षिणको निम्त्याएको जीविकोपार्जन र जैविक विविधताको संकटलाई निराकरण गर्न भूमिका खेल्नु पर्ने लगायत नारासाथ र्याली निकालिएको थियो।

दिगो विकास संस्थानसँग आवद्ध मन्दिप साहले अजरबैजानको बाकुमा संचालन भैरहेको कोप-२९ को समर्थनमा वैश्विक वातावरणलाई असर पुर्याउने गतिविधि गर्ने राष्ट्रहरुले वातावरणीय प्रभाव भोग्नु परेको राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग सहित र्याली निकालिएको बताउनु भयो।

साहको अनुसार जलवायु वित्तको माग गर्दै नेपालको विराटनगर सहित भिन्न १६ सहरहरुमा र्याली निकालिएको हो।

प्रकाशित मिति: २०२४-११-१६ , समय : १४:०१:४९ , १ महिना अगाडि