कप्तान पूजा महतोको दमदार प्रदर्शनसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध विशाल जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपाल १६५ रनले विजयी भएको हो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो। योसँगै नेपालले प्रतियोगितामा चौथो जित निकालेको छ। नेपालले थाइल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो। यस्तै, कुवेतलाई १०८ रनले पाखा लगाए पनि युएईसँग १३ रनले पराजित हुन पुगेको थियो।
नेपाललाई विश्वकपमा पुग्न बुधबार हुने अन्तिम खेलमा युएईविरुद्ध फराकिलो जितको आवश्यक पर्नेछ। युएई अपराजित रहँदै चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थानमा छ।
एक खेल बढी खेलेको नेपालको आठ अंक छ। यद्यपि, युएईले थाइल्यान्ड र नेपालसँग खेल्न बाँकी छ। र, युएई नेटरन रेटमा पनि नेपालभन्दा बलियो स्थितिमा छ। युएईको नेटरनरेट ४.७१२ छ भने नेपालको ४.३३० मात्रै छ। नेपालको जितमा कप्तान पूजाले अविजित १३० रन बनाइन् भने बलिङमा सर्वाधिक पाँच विकेट लिइन्।
युएइकी ओपनर जेफा जिलिनीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। ४२ बल खेलेकी उनले सात चौकासहित ३६ रन बनाइन्। कुवेतका सात ब्याटर शून्य रनमै पेभिलियन फर्किए। नेपालले ७ रन अतिरिक्त दिएको थियो। पूजाले नवौं ओभरमा चार विकेट लिएकी थिइन्। पहिलो बलमा रेलिन मारियालाई उनले एलबिडब्यु आउट बनाइन्।
दोस्रो बलमा अमिषा रामलाई बोल्ड गरेकी थिइन्। तर, उनी ह्याट्रिक विकेट लिन भने चुकिन। तेस्रो बलमा सेरेना साइमनले डट खेलिन्। चौथो बलमा सेरेनालाई पुजाले बोल्ड गरिन्।
पाँचौं बलमा सारा जस्भीलाई बोल्ड गरिन्। यद्यपि, अन्तिम बलमा जिनिया अफरोजले डट खेल्दै उनलाई पुन: ह्याट्रिक लिन रोकिन्। त्यसभन्दा पहिला उनले आयुषा इकवालको विकेट लिएकी थिइन्। रचनाकुमारी चौधरी र सीमा केसीको नाममा समान दुई विकेट रह्यो।
त्यसअघि अजमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रन बनाएको हो। नेपाली टोलीका ओपनर साना प्रभिन र सावित्री धामी कृजमा जम्न सकेनन्। तर, कप्तान पूजा र उपकप्तान सोनी पाख्रिनले १५७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएकी हुन्।
पूजाले प्रतियोगितामै पहिलो शतक प्रहार गरिन्। ६९ बल खेलेकी उनले १७ चौकासहित १३० रनको अविजित इनिङ्स खेलिन्। यस्तै, सोनी अर्धशतक बनाउन ७ रनले चुकिन्। ३३ बल खेलेकी उनले दुई चौकासहित अविजित ४३ रन बनाइन्।
प्रकाशित मिति: २०२४-११-१२ , समय : १६:४५:५६ , १ महिना अगाडि