विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखी पठनपाठन सुरु गर्ने भएको हो ।स्नातकतर्फ विविएएलएलबी र स्नातकतर्फ अपराध शास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पुरा गरेको हो । स्नातकतर्फ नेपालमै पहिलो पटक विविए एलएलबीको पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्त्ति उत्पादन गर्न हामीले नयाँ नमुना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौ’, उपकुलपति पोखरेलले भने ।
उपकुलपति पोखरेलका अनुसार विविए एलएलबीको कोर्ष ५ बर्षको हुनेछ । विद्यार्थीहरुले अति न्युन शुल्क ४ लाख ५० हजारमै कोर्ष पुरा गर्न पाउनेछन । मनमोहनले नयाँ कोर्ष अनुसार कानुन पढन चाहने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तीको व्यावस्था पनि गरेको छ । महिला , दलित लगायतलाई ४५ सिटको कोटा मध्येबाट दश प्रतिशत छात्रबृत्ती प्रदान गरिनेछ ।
विविए एलएलबी कोर्षमा सैद्धान्तिक नभएर बढि प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढने विद्यार्थीहरुले आफै अनुसन्धान र सर्वे गर्नेदेखी डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन । यसैगरि खरिद प्रकृयाबारे पनि बिद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्ष अनुसार विविए एलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाट समेत विज्ञ शिक्षकहरु ल्याइनेछ । कानुन पढन चाहने विद्यार्थीहरुले यही कार्तिक मसान्तभित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्नेछ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा हालसम्म सिभिल र ईलेक्टोनिक्स एण्ड ईलेक्टिक ईन्जिनियरिंगमा स्नातक , विफर्मातर्फ स्नातक र अस्पताल व्यावस्थापनतर्फ स्नातोकोत्तरको पढाई सुरु गरिसकेको छ ।
२०७६ मा स्थापना भएको यो विश्वविद्यालयले दश बर्षभित्र तीन वटा स्कुल अन्र्तगत विभिन्न २८ बिषयमा पिएचडीसम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: २०२४-११-१० , समय : १८:२८:३८ , १ महिना अगाडि