खुल्यो तातोपानी नाका, भित्रिन थाले चिनियाँ स्याउ

काठमाडौं । तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ नेपाल भित्रिन थालेको छ । असोज ११ गतेको बाढीले दुईटा पुल बगाउँएपछि बन्द  सडक खुलेसँगै तिहार लक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन् ।

‘पछिल्लो ३ दिनदेखि नियमित रुपमै भन्सारमा जाँचपास भएर गाडी छुटेका छन्’, प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले भने, ‘तिहार लक्षित फलफूल बोकेका ट्रक बढी छुटेका छन् । त्यसबाहेक लत्ता कपडा थोरै मात्रामा छन् ।’

२–३ वटा ब्रान्डले तातोपानी नाका हुँदै विद्युतीय गाडी ल्याउने गरेका थिए । नाका खुलेपछि करिब एक दर्जन गाडी छुटेका छन् भने ५० जति भन्सारमा आएर जाँचपास नगरी बसेको भट्टराईले जानकारी दिए ।

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उनले बताए । विशेष गरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।

अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रजिअ सुवेदीको भनाइ छ । ‘हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउने छन्’, उनले भने ।

उनका अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ । आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-१०-२९ , समय : १५:५०:३४ , २ महिना अगाडि