गृहमन्त्री लेखकसँग रास्वपा उपसभापति अर्यालको भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच सोमबार अपराह्न गृह मन्त्रालयमै भेटवार्ता भएको स्रोतले जानारी दियो ।

‘उपसभापति अर्याल सोमबार अपराह्न सवा ५ बजेतिर मन्त्रालयमै आउनु भएको थियो, गृहमन्त्री ज्यूसँग १५ मिनेट जति कुराकानी गरेर निस्कनु भयो,’ स्रोतले सुनायो । गृहमन्त्रीको सचिवालयले भने भेटवार्ताबारे खुलाउन चाहेन । उपसभापति अर्यालले गृहमन्त्री लेखकसँग भेटवार्ता भएको बताए । ‘आज हामी बालुवाटारमा प्रदर्शन गर्दैछौं, त्यसैको शान्ति सुरक्षाका निम्ति गृहमन्त्रीसँग कुराकानी गरेको हुँ, अरू विषयमा कुराकानी भएन,’ उपसभापति अर्यालले भने ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन् । गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय चःमतिबाट पक्राउ गरेर पोखरा लगिएको थियो । सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रास्वपाले सडक प्रदर्शन गरिराखेको छ । हालै बसेको केन्द्रीय समिति बैठकले उपसभापति अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन पनि गरेको थियो ।

प्रकाशित मिति: २०२४-१०-२९ , समय : ११:४८:४८ , २ महिना अगाडि