सरकार दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारीमा छ : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको आरोप लगाए ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसअघि सरकारले आवश्यकताका लागि अध्यादेश ल्याएको दावी गरे । ‘अहिले आवश्यकता भन्दा पनि पूर्वाग्रहका साथ ल्याउन लागिएको हो,’ नेपालले थपे, ‘उबेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो। जनता सडकमा उत्रिएका थिए। त्यस बेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई समाजवादी पार्टी फुटाउनु छ ।’

नेपालको राजनीति र नेपालको मौसम उस्ताउस्तै रहेको टिप्पणी गर्दै उनले पूर्वानुमान गर्नै नसकिने बताए । ‘जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमानदारीका साथ लागेन,’ उनले थपे, ‘विपद्मा पनि सरकार देखिएन ।’ जनप्रतिनिधि निवास, सरकारी भवन निर्माणमा नै केन्द्रित रहेको उनको भनाइ थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत १६ वटा विमानस्थल, भ्युटावर, गाउँपालिका–नगरपालिका र वडाका भवन, पालिकाभित्रका अस्पताललगायतमा अनावश्यक लगानी भएको उनले बताएका छन् ।

समाजवादी यात्रा गर्दा राोजगारी, सुशासन, उत्पादन, देशका परियोजना विचार पुर्‍याइ तय गर्ने, बजारको व्यवस्थापन र मूल्यांकन गर्ने बताउँदै नेपालले माओवादीसँग एकताको सम्भावना रहेको र एमालेसँग कल्पना नै गर्न नसकिने उनको भनाइ थियो । सहकारीपीडितका मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । नजिकिँदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उनले बताए ।

प्रकाशित मिति: २०२४-१०-२८ , समय : ११:२६:३९ , २ महिना अगाडि