साना किसान बुढीगङ्गालाई व्यवस्थापन हस्तान्तरण सम्पन्न

विराटनगर : देशभर सहकारी र लघुवित्तीय संस्थाले रकम अपचलन गरेका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवन झन् भन्दा झन् कमजोर भइ रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले बताउनु भएको छ ।

शुक्रवार बुढीगङ्गा गाउँपालिकामा आयोजित साना किसान कृषि सहकारी संस्था लिमिटेड बुढीगङ्गाको तेस्रो वार्षिक साधारणसभा तथा व्यवस्थापन हस्तान्तरण समारोहका प्रमुख अतिथि पाठकले गरिब किसानहरूलाई आर्थिक गर्जो टार्न साना किसान सहकारीले सहयोग गरिरहेको बताउनु भयो ।

विश्व किसान महासंघ, रोम, मनिलामा हालै सञ्चालक समितिमा निर्वाचित पाठकले ठूला बैङ्कले नपत्याउने, सहकारी र लघुवित्तीय संस्थाले अफ्ठ्यारोमा पारेका गरिब र साना किसानहरूलाई साना किसान सहकारी सबैभन्दा नजिकको उत्तम सारथी बन्दै गएको बताउनु भयो । उहाँले नेपालमै सबैभन्दा अनुशासित सहकारी संस्था साना किसानहरूले चलाएको साना किसान भएकाले गरिब किसानको असली साथी नै साना किसान सहकारी भएको बताउनु भयो ।

साना किसान विकास लघु वित्त वित्तीय संस्था इटहरीले ०७७ मङ्सिर १० गते दरखास्त माग गरेको र सो अवस्थामा रतुवाई नगरपालिका–६ मा रहेको साना किसान सहकारी संस्था सिजुवाले प्रवद्र्धकको रूपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड बुढीगङ्गा स्थापना गरिदिएकोमा छोटो समयमै संस्था वयस्क भएपछि व्यवस्थापन हस्तान्तरण गरिएको साना किसान सिजुवाका मुख्य प्रबन्धक ऋषिकुमार ढकालले बताउनु भयो ।

२०७७ माघ १७ गते बुढीगङ्गाका जनप्रतिनिधि, वुद्धिजीवी र साना किसानहरूको भेला र छलफलले स्थापना गरेको बुढीगङ्गा साना किसान संस्थाले तीन वर्षको छोटो अवधिमा उल्लेखनिय प्रगति गरेको प्रवद्र्धक संस्थाका मुख्य प्रबन्धक ढकालले बताउनु भयो ।

व्यवस्थापन हस्तान्तरण समारोहका साना किसान बुढीगङ्गा सहकारी संस्थाका अध्यक्ष दुर्गा विष्टले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन अनुसार संस्थामा तीन वर्षको अवधिमा ५ सय ३ जना शेयर सदस्य सङ्गठित भएका छन् । संस्थाको शेयर पुँजी चालू आर्थिक वर्षमा १८ लाख ५ सयबाट बढेर १९ लाख ७३ हजार पुगेको छ । गत वर्ष कोष हिसाब ५ लाख ३४ हजार रहेकोमा यस वर्ष बढेर ९ लाख ८८ हजार पुगेको छ ।
संस्थाले गत वर्ष ८५ लाख ५२ हजारको वार्षिक कारोवार गरेकोमा सो कारोवार रकम बढेर चालू आर्थिक वर्षमा १ करोड २० लाख ४६ हजार पुगेको छ । संस्थाले तीन वर्षको अवधिमा ५ लाख १० हजार खुद बचत गरेको छ ।

तेस्रो वार्षिक साधारणसभा तथा व्यस्थापन कार्यक्रममा संस्थाले उत्कृष्ट शेयर सदस्य ललितादेवी माझी, उत्कृष्ट वचतकर्ता जागेश्वर माझी र उत्कृष्ट ऋणी हिराकुमारी खवासलाई प्रशंसापत्रले सम्मान गरेको छ ।

साना किसान कृषि सहकारी संस्था, बुढीगङ्गाको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा प्रवद्र्धक संस्थाका अध्यक्ष द्रोर्णबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रवद्र्धक संस्था साना किसान सिजुवाका प्रबन्धक ऋषिकुमार ढकालले सञ्चालन गरेको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा थारू र बाँतर समुदायका बालिकाहरूले थारू र बाँतर मौलिक पहिरनमा थारू र बाँतर संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०२४-१०-२५ , समय : १७:२२:३१ , २ महिना अगाडि